मंगलबार, १७ कार्तिक २०८३
Test Ad 2
ताजा

रजोनिवृत्ति प्राकृतिक प्रक्रिया

रजोनिवृत्ति प्राकृतिक प्रक्रिया
Test Ad 2

रश्मि पौडेल
रजोनिवृत्ति महिलाको जीवनमा आउने एउटा स्वाभाविक जैविक प्रक्रिया हो । महिलामा लगातार १२ महिनासम्म महिनावारी नआएपछि र महिनावारी रोकिएका कारण कुनै चिकित्सकीय वा शल्यक्रियासम्बन्धी कारण नभएको अवस्थामा रजोनिवृत्ति भएको औपचारिक रूपमा मानिन्छ । रजोनिवृत्ति सामान्यतया ४५ देखि ५५ वर्षको उमेरमा हुन्छ । यो प्रक्रियालाई एक प्राकृतिक प्रक्रिया मानिएको छ तर प्राकृतिक हुनुको अर्थ यो सधैँ सहज हुन्छ भन्ने होइन । 
अनुसन्धानका क्रममा अन्तर्वार्ता दिँदै एक महिलाले आफ्नो अनुभव यसरी सुनाइन्, “मलाई एक पटक लगातार ४२ दिनसम्म रगत बगेको थियो । स्वास्थ्य जाँच गराउँदा डाक्टरले रजोनिवृत्तिको चरणमा भएकाले यस्तो भएको हो भन्नुभयो तर रगत मात्र धेरै बगेको होइन, मेरो हड्डी र मांसपेशी पनि धेरै दुख्थ्यो । राति राम्रोसँग सुत्न सक्दिनथेँ । शरीर निकै कमजोर भएको महसुस हुन्थ्यो ।” 
भक्तपुरको सूर्यविनायक नगरपालिकामा गरिएको एक अध्ययनले यही वास्तविकताको एउटा स्थानीय चित्र प्रस्तुत गर्छ । अध्ययनमा ४५ देखि ६० वर्ष उमेर समूहका ४५ जना रजोनिवृत्ति महिलालाई समावेश गरिएको थियो । अध्ययनका लागि संरचित प्रश्नावली, अर्धसंरचित अन्तर्वार्ता, दुई जना प्रमुख सूचनादाता तथा चार वटा नमुना अध्ययन प्रयोग गरिएको थियो । 
अध्ययनको एउटा महत्वपूर्ण पक्ष के थियो भने अधिकांश महिलाले रजोनिवृत्तिलाई जीवनको प्राकृतिक चरणका रूपमा स्वीकार गरे पनि त्यससँग सम्बन्धित स्वास्थ्य समस्या र लक्षणबारे उनीहरूको जानकारी सीमित देखियो । अध्ययनले रजोनिवृत्तिसम्बन्धी ज्ञान र महिलाले वास्तविक जीवनमा भोगिरहेका अनुभवबिच एउटा स्पष्ट दुरी देखाएको छ ।
रजोनिवृत्तिलाई प्रायः महिनावारी बन्द हुने घटनाका रूपमा मात्र बुझिन्छ तर यस अवधिमा शरीर र मनमा धेरै प्रकारका परिवर्तन आउन सक्छन् । अध्ययनमा अत्यधिक गर्मी हुने, चिसो मौसममा पनि ज्यान पोलेको जस्तो महसुस हुने, अत्यधिक पसिना आउने, निद्रामा समस्या देखिने, तौल बढ्ने, स्मरणशक्ति कमजोर हुने, योनी सुक्खापन, रक्तस्रावमा परिवर्तन तथा मांसपेशी र जोर्नी दुख्ने जस्ता शारीरिक लक्षण उल्लेख भएका छन् । त्यस्तै धेरै घडबराहट, आत्मविश्वासमा कमी, एकाग्रतामा कठिनाइ, चिडचिडापन, मनोभावमा परिवर्तन, चिन्ता तथा आत्तिने अवस्था जस्ता मनोवैज्ञानिक अनुभव पनि देखिएका छन् । सामाजिक रूपमा एक्लोपन वा उपेक्षित महसुस हुनु, यौन इच्छामा कमी आउनु तथा व्यक्तिगत जीवनप्रति असन्तुष्टि जस्ता अनुभवसमेत अध्ययनमा समेटिएका थिए । 
लक्षणको तीव्रता सबै महिलामा एउटै थिएन । उदाहरणका लागि ५५.६ प्रतिशत महिलाले मांसपेशी तथा जोर्नीको दुःखाइलाई अत्यधिकस्तरमा अनुभव गरेको बताएका थिए । त्यस्तै २२.२ प्रतिशत महिलाले निदाउन वा निद्रा कायम राख्न अत्यधिक कठिनाइ भएको बताएका थिए । मनोवैज्ञानिक लक्षणमा पनि भिन्नता देखियो । अधिकांश महिलाले केही न केहीस्तरमा चिडचिडापन वा मनोभावमा परिवर्तन अनुभव गरेको देखिए पनि चिन्ता तथा आत्तिने समस्या तुलनात्मक रूपमा कम तीव्र देखिएको थियो । सामाजिक पक्षमा भने धेरै महिलाले आफूलाई एक्लो वा उपेक्षित महसुस नगरेको बताएका थिए । यसले एउटा महत्वपूर्ण कुरा देखाउँछ, रजोनिवृत्ति सबै महिलाले एउटै तरिकाले अनुभव गर्दैनन् । कसैका लागि यो सामान्य परिवर्तन हुन सक्छ भने कसैका लागि शारीरिक पीडा, निद्राको समस्या, भावनात्मक असहजता र सामाजिक तनावको समय बन्न सक्छ ।
जानकारीको अभावले समस्या 
रजोनिवृत्तिसम्बन्धी सबैभन्दा ठुलो समस्या लक्षण मात्र होइन, त्यसबारे पर्याप्त जानकारी नहुनु पनि हो । अध्ययनमा धेरै महिलालाई रजोनिवृत्तिका लक्षण तथा सम्भावित स्वास्थ्य समस्याबारे सीमित जानकारी रहेको देखियो । एक सहभागीले आफूले शरीरमा यति धेरै परिवर्तन हुन्छ भन्ने नै नबुझेको अनुभव सुनाएकी थिइन् । यस किसिमको अनुभवले एउटा प्रश्न उठाउँछ, यदि महिलालाई आफ्नो शरीरमा भइरहेको परिवर्तन सामान्य जीवनचक्रको हिस्सा हो भन्ने जानकारी नै छैन भने उनीहरूले त्यसलाई कसरी बुझ्ने र व्यवस्थापन गर्ने ? रजोनिवृत्तिलाई लिएर समाजमा अझै पनि असहजता र मौनता कायम छ । महिलाको स्वास्थ्यका विषयमा पनि उनीहरू प्रायः परिवारका अन्य सदस्य, विशेष गरी श्रीमान् र छोराछोरीको स्वास्थ्यलाई प्राथमिकता दिँदै आफ्नै स्वास्थ्यलाई पछि पार्ने अवस्था देखिन्छ । अध्ययनको निष्कर्षले पनि रजोनिवृत्ति प्राकृतिक प्रक्रिया भए पनि यसलाई अझै खुलेर स्वीकार र छलफल गर्ने अवस्था पर्याप्त नभएको देखाउँछ ।

स्वास्थ्य समस्या वा रजोनिवृत्तिसम्बन्धी अनुभवबारे कुरा गर्दा महिलाको पहिलो रोजाइ चिकित्सक नहुनु अर्को महत्वपूर्ण पक्ष हो । अध्ययनमा ४० प्रतिशत महिला आफ्ना स्वास्थ्य अवस्था वा समस्याबारे श्रीमान्सँग कुरा गर्न सहज भएको बताए भने ३३.७ प्रतिशतले महिला परिवारका सदस्यसँग कुरा गर्न सहज भएको सुनाए । चिकित्सकसँग परामर्श गर्न सहज महसुस गर्ने महिला भने २६.७ प्रतिशत मात्र थिए ।

यसको अर्थ परिवारको भूमिका महत्वपूर्ण छ तर परिवारसँग कुरा गर्नु र स्वास्थ्य सेवा लिनु एउटै कुरा होइन । रजोनिवृत्तिसम्बन्धी समस्या गम्भीर हुँदा स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श लिन सक्ने वातावरण आवश्यक हुन्छ । अध्ययनका अनुसार करिब एकतिहाइ महिलाले मात्र रजोनिवृत्तिसम्बन्धी चिन्ताका लागि चिकित्सकीय सहयोग लिएका थिए ।

अध्ययनमा सहभागी स्त्रीरोग विशेषज्ञका अनुसार महिलाहरू प्रायः लक्षण देखिएपछि मात्र स्वास्थ्य संस्थामा आउने गर्छन् । उनी भन्छिन्, “एक पल्ट आउनुहुन्छ र फेरि परामर्शका लागि भने आइदिनु हुन्न, त्यसले गर्दा समस्याको जटिलता बुझ्न गाह्रो हुने पर्छ ।” स्वास्थ्यकर्मीले आवश्यकता अनुसार औषधी तथा परामर्श दिने भए पनि रजोनिवृत्तिका लागि विशेष रूपमा थप परामर्श सेवामा पठाइएका बिरामीको अनुभव कम रहेको बताइएको थियो । उनले रजोनिवृत्तिका जैविक, मनोवैज्ञानिक र सामाजिक पक्ष एकअर्कासँग जोडिएका हुने र कतिपय अवस्थामा मनोवैज्ञानिक लक्षण महिलाका लागि बढी कठिन हुन सक्ने उल्लेख गरिन् । महिलाहरू आफैँ पनि सामना गरिरहेका छन् । 
समस्या भए पनि महिलाहरू निष्क्रिय छैनन् । उनीहरूले आफ्नै अनुभव र सामाजिक सम्बन्धका आधारमा विभिन्न उपाय अपनाइरहेका छन् । अध्ययनमा ४८.९ प्रतिशत महिलाले रजोनिवृत्तिको अनुभव गरिसकेका अन्य महिलासँग आफ्नो स्वास्थ्य अवस्था वा लक्षणबारे नियमित रूपमा छलफल गर्ने बताएका थिए । २५ जना महिलाले आफूलाई काम वा अन्य गतिविधिमा व्यस्त राखेर रजोनिवृत्तिबारे कम सोच्ने प्रयास गरेका थिए । त्यस्तै ३६ जना महिलाले रजोनिवृत्तिका सकारात्मक पक्षबारे सोच्ने अभ्यास नियमित रूपमा गरेको बताएका थिए । ३१.१ प्रतिशत महिलाले आफूमा देखिएका समस्यालाई प्रत्यक्ष रूपमा समाधान गर्ने प्रयास गरेको देखियो ।
यसले महिलाले आफ्नो अनुभव व्यवस्थापन गर्न सामाजिक सम्बन्ध, काम, सकारात्मक सोच र आफ्नै प्रयासलाई प्रयोग गरिरहेको देखाउँछ तर व्यक्तिगत प्रयास मात्र पर्याप्त हुँदैन । सही सूचना, परिवारको सहयोग र आवश्यक स्वास्थ्य सेवाको पहुँच पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

व्यस्त रहँदा सामना गर्न सजिलो

Test Ad 2

अध्ययनमा सहभागी एक ५५ वर्षीय महिला किसान तथा गृहिणी थिइन् । उनले निद्रामा समस्या, थकान र शरीरमा भएका अन्य परिवर्तनको अनुभव गरेकी थिइन् । उनले आफूलाई खेतबारीको काममा व्यस्त राख्दा भइरहेको परिवर्तनसँग सामना गर्न केही सहज हुने बताएकी थिइन् । उनको अनुभवमा रजोनिवृत्ति केवल शरीरमा हुने परिवर्तन थिएन, त्यसलाई बुझ्ने, व्यक्त गर्ने र कसैसँग साझा गर्ने आवश्यकता पनि थियो । उनले थप जानकारी र चिकित्सकसँग पहुँचको आवश्यकता महसुस गरेकी थिइन् । यस्ता अनुभवले रजोनिवृत्तिलाई केवल चिकित्सकीय विषयका रूपमा मात्र हेर्न नमिल्ने देखाउँछन् । यो परिवार, समुदाय, मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध र महिलाको दैनिक जीवनसँग जोडिएको विषय हो ।
सार्वजनिक स्वास्थ्य विशेषज्ञका अनुसार रजोनिवृत्ति सामान्य शारीरिक प्रक्रिया भएकाले यसबारे महिलाले खुलेर कुरा गर्न सक्ने वातावरण आवश्यक छ । महिलालाई रजोनिवृत्तिका बारेमा जानकारी केवल लक्षण देखिएपछि होइन, वयस्क अवस्थादेखि नै दिनुपर्ने आवश्यकता पनि औँल्याइएको छ । प्रत्येक महिलाको अनुभव फरक हुने भएकाले एउटै उपाय सबैका लागि उपयुक्त नहुन सक्छ ।
त्यसैले रजोनिवृत्तिसम्बन्धी सेवा केवल औषधीमा सीमित हुनुहुँदैन । प्राथमिक स्वास्थ्य सेवामा स्वास्थ्य शिक्षा, परामर्श, मानसिक स्वास्थ्य सहयोग र आवश्यक परे विशेषज्ञ सेवामा सिफारिस गर्ने व्यवस्था बलियो बनाउन आवश्यक छ । समुदायस्तरमा महिला समूह, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय तहको सहकार्यमा रजोनिवृत्तिसम्बन्धी छलफल सञ्चालन गर्न सकिन्छ । परिवारका सदस्यलाई पनि यसबारे जानकारी दिन आवश्यक छ, ताकि महिलाको अनुभवलाई ‘सामान्य भएर सहनुपर्ने कुरा’ भनेर मात्र बेवास्ता नगरियोस् ।

सामाजिक कार्यको दृष्टिकोणबाट हेर्दा व्यक्तिगत परामर्श, परिवारसँग काम, समूहगत सहयोग, समुदायमा सचेतना, स्वास्थ्य सेवामा पहुँचका लागि सहजीकरण तथा महिलाको स्वास्थ्य अधिकारका लागि पैरवीलाई एकीकृत गर्न सकिन्छ । यसले रजोनिवृत्तिलाई केवल रोग वा उपचारको विषय नभई महिलाको समग्र कल्याणसँग जोडेर हेर्न सहयोग गर्छ ।
अनुसन्धान आवश्यक
यो अध्ययनले महत्वपूर्ण स्थानीय अनुभव उजागर गरे पनि यसको नमुना सानो र भौगोलिक रूपमा सीमित छ । त्यसैले यसका निष्कर्षलाई नेपालका सबै महिलामा समान रूपमा लागु गर्न मिल्दैन । अध्ययन स्वयम्ले पनि थप र व्यापक अनुसन्धानको आवश्यकता औँल्याएको छ । नेपालमा विभिन्न भौगोलिक क्षेत्र, जातीय तथा सामाजिक समूह, ग्रामीण–सहरी परिवेश र आर्थिक अवस्थाका महिलाले रजोनिवृत्तिलाई कसरी अनुभव गर्छन् भन्नेबारे थप अध्ययन आवश्यक छ । विशेष गरी महिलाको स्वास्थ्य ज्ञान, मानसिक स्वास्थ्य, परिवारको भूमिका, स्वास्थ्य सेवा प्रयोग र सामाजिक धारणालाई जोडेर अध्ययन गरिनु पर्छ ।
रजोनिवृत्ति महिलाको जीवनको अन्त्य होइन, यो जीवनको अर्को चरणमा प्रवेश हो तर यो चरणलाई सहज बनाउन महिलालाई मौन बस्न बाध्य पार्नुको सट्टा सही जानकारी, सम्मान, पारिवारिक सहयोग र आवश्यक स्वास्थ्य सेवाको पहुँच दिनु पर्छ । रजोनिवृत्ति प्राकृतिक हो तर त्यसबारे अन्जान रहनु प्राकृतिक हुनु पर्दैन । महिलाको शरीरमा हुने परिवर्तनलाई बुझ्ने, त्यसबारे कुरा गर्ने र आवश्यक सहयोग प्राप्त गर्ने अधिकार हरेक महिलालाई छ।

Test Ad 2
तपाईंको प्रतिक्रिया
कुल 1 प्रतिक्रिया
टिप्पणीहरू
0

टिप्पणी गर्न कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

अहिलेसम्म कुनै टिप्पणी प्राप्त भएको छैन।